निर्माता मुनि बुद्धाचार्यको नामबाट बोलचालीमा मुनि विहार भनी चिनिने यो विहारको औपचारिक नाम श्री धर्म्म उत्तम महाविहार हो । सन् १६५५ (ने.स. ७७६) मा निर्माण भएदेखि नै विहार व्यवस्थापनको लागि ३० रोपनी जग्गा समेत आयस्ता राखिएको र दाताका पुत्र तिब्बतको सिगात्से शहरस्थित प्रसिद्ध ताशिल्हुम्पो विहार वा गुम्बाबाट आएका भिक्षु पद्मध्वजबाट संचालन भएको थियो । यी तथ्यहरू उल्लेख रहेको यहाँको शिलालेखमा तत्कालीन भक्तपुरका शासकको नाम उल्लेख छैन । शायद यस्तो हुनुको कारण हो, विहार निर्माणमा उचित सहयोग प्राप्त नभएको । यो विहार मंगोल सम्राटको मदतले भर्खर तिब्बतको साड० प्रान्तका विद्रोही राजाको दमनपछि उदय भएका गेलुग्पा सम्प्रदायका पाँचौं दलाई लामाको पक्षधर भिक्षुसंघको हो । यसबाट नेपालका शासकहरू साड०प्रान्त शासकको पक्षधर थिए कि ? भनी तत्कालीन नेपालको तिब्बतसँगको राजनीतिक सम्बन्धबारे समेत अनुमान गर्न यो शिलापत्र उपयोगी छ ।
पछि २५० वर्षजति अंधकार युगमा परेर भत्ताभुँग अवस्थामा पुगेको यो विहारको ७५x७५ फुटको जग्गा सन् १९५३ मा थेरवादी भिक्षु रत्नजोति महास्थविर (सन् १८९९-१९७६) ले हकवालाहरूबाट दानपत्र प्राप्त गरेदेखि निरन्तर प्रगति हुँदै आएर हीरक उत्सव मनाईसकिएको छ । अहिले यहाँ पूर्वतिर प्रवेशद्वारसँगै पुरानो प्रमुख बुद्धमूर्ति स्थापना गरिएको २०x१४ फुटको २ तल्ले मन्दिर र १८x१८ फुटको भान्छाघर, दक्षिणतिर ३०x१५.२९ फ़ुट को २ तल्ले धर्मशाला अनि पच्छिमतिर ६०x१३ फुटको २ र ३ तल्ले कुटीहरू छन् । चोकमा तेली ईंटा वछ्याई बीचको पुरानो चैत्य छोपी ८ फुटजति अग्लो नयाँ प्रस्तरमय चैत्य स्थापना गरिएको छ । उत्तरतिर खुल्ला भर्याड० भएको, ३३x४८.८ फ़ुट भएको ३ तल्ले उपोसथागार मन्दिर छ, जसको माथिल्लो तल्लामा श्रीशाक्यमुनि बुद्ध भगवानको विशाल मूर्ति, युगल अग्रश्रावक र सीवली स्थविरका मूर्तिहरू स्थापना गरिएका छन् । छानामा संयुक्तराज्य अमेरिकाको न्यूयोर्क महानगरस्थित संयुक्त राष्ट्र संघको मुख्यालयमा स्थापित वैसाख मेमोरियल स्तूपको प्रतिकृति गजुर राखिएको छ । उनै भिक्षुबाट सन् १९६० देखि नै यहाँ थेरवादी प्रब्रज्या पनि दिनथालिएको थियो फलस्वरूप निरन्तर यो विहार संचालन तथा विकास भइरहेको छ ।
थाइलैंडका राजगुरू भिक्षु परमपूज्य संघराज सोमदेद् फ्रान्याणसंवर (सुवड्ढन महाथेर, सन् १९१३-२०१३) को संरक्षणमा सन् १९९८ देखि द्रुतगतिमा विकास भईरहेको यो विहारमा जग्गा अहिले साढेतीन रोपनी छ । यहाँ सन् २००२ मा स्थापित भिक्षु तालीम केन्द्रमा २००३ देखि सामूहिक प्रव्रज्या तथा उपसम्पदा योजना संचालन गरी नेपालमा तथा थाइलैंडमा धार्मिक तथा सामान्य शिक्षा दिने व्यवस्था गरिएको छ जसले गर्दा यहाँ ६०-९० जना जति प्रव्रजितहरू शिक्षार्जन तथा धर्मकर्म गरी बस्दछन् । थाईलैंडमा पनि यहाँका १०० जनाजति भिक्षु तथा श्रामणेरहरू अध्ययनरत छन् । यस विहारको धार्मिक सेवाकार्य बढाउन दक्षिणतिरको जग्गामा संघराज शतवार्षिकी बहुउद्देश्यीय भवन निकट भविष्यमा नै निर्माण गर्ने योजना छ ।
सन् १९७५ देखि श्री रामकृष्ण बैद्य उपासकको अध्यक्षतामा मुनि विहार दायक सभाबाट विहार संचालनमा सहयोग भईरहेको छ । मुनि विहार व्यवस्थापन समितिद्वारा यो विहार सन् २०१६ देखी नेपाल सरकारको संघीय मामिला तथा स्थानीय बिकास मन्त्रालय अन्तर्गतको बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा बिकास समिति मा दर्ता गरिएको छ र भिक्षु विपस्सी महास्थविर यस विहारका प्रमुख हुन् । यहाँ प्रव्रजित भई धार्मिक तथा शैक्षिक प्रगति गर्न इच्छुक महानुभावहरूलाई प्रारम्भिक सुविधा सहित स्वागत छ ।